पोखरा । पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्ग सहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो ।
मालपोत कार्यालय कास्कीले बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँससहितको किटानी सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्र, जग्गाधनीसँग भएको सक्कल पुर्जा, पारित लिखत (जग्गा खरिदबिक्री वा बकसपत्र आदि) पेस गर्नुपर्ने कार्यालयले जनाएको छ । यस्तै, जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमतिपत्र, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर, फिल्डबुक र नक्सा, ३५ दिने सार्वजनिक सूचना र गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र पनि पेस गर्नुपर्ने सूचना जारी गरेको थियो ।
उक्त सूचनाले सर्वसाधारणमा त्रास सिजर्ना भएको तथा सूचनामा उल्लेखित ११ प्रकारका कागजात र प्रमाणहरु माग्नु अव्यवहारिक भएको संघका अध्यक्ष गोकर्ण कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । पत्रमा सरोकारवालालाई झन्झटिलो तथा अव्यवहारिक देखिएको सो व्यवस्थाको सट्टा गलत व्यक्तिले दुरुपयोग गर्न नमिल्ने गरी न्यूनतम् आधिकारिक प्रमाणहरुको आधारमा श्रेस्ता कायम गर्न माग गरिएको छ ।
प्रतिनिधिमण्डले ज्ञापनपज्ञको बोधार्थ कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पनि हस्तान्तरण गरी सहजीकरणको लागि आग्रह गरिएको महासचिव शोभा गौतमले जानकारी दिइन् ।
जेन्जी आन्दाेलनका क्रममा जिल्ला मालपोत कार्यालय जलेको थियाे ।