पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २६ स्थित नेपाल मगर संघ बुढीबजार इकाई समितिले मगर समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यका साथ सामूहिक रूपमा माघे सङ्क्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाएको छ। विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा समुदायको एकता, भाषा–संस्कृतिको संरक्षण र भावी पुस्ताको भूमिका विषयमा जोड दिइएको थियो।
मगर समुदायले हरेक वर्ष माघे सङ्क्रान्तिलाई नयाँ वर्षको सुरुवातका रूपमा पितृ, प्रकृति र संस्कृतिको पर्वका रूपमा मनाउँदै आएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सामूहिक रूपमा माघी पर्व मनाइएको हो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले समाजको वास्तविक सम्पत्ति भनेकै विभिन्न जातजातिका मौलिक संस्कृतिहरू भएकाले तिनको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि फुटेर होइन, जुटेर अघि बढ्न आग्रह गर्दै वडाले सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष थापाले आफ्नो कार्यकालमा वडाभित्रका सामाजिक संघ–संस्था तथा विभिन्न जातजातिसँगको सहकार्यबाट उल्लेखनीय सफलता हासिल भएको उल्लेख गर्दै बाँकी कार्यकाललाई पनि सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको बताए।
सो अवसरमा नेपाल मगर संघ कास्की महिला समितिकी निवर्तमान अध्यक्ष नुनुमाया थापा मगरले माघे सङ्क्रान्ति नेपाल र नेपालीको मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वमा विभिन्न कन्दमूल खाने र पितृको सम्झना गर्दै मनाउने परम्परा रहेको बताइन्। उनले बाबुआमाको पेन्सनमा निर्भर रहने प्रवृत्तिको अन्त्य गर्दै युवालाई उत्पादनसँग जोड्न ‘एक इकाई, एक उत्पादन’ को अवधारणालाई अघि बढाउनुपर्ने सुझाव दिइन्।
त्यसैगरी, इकाई समितिका संस्थापक अध्यक्ष यमबहादुर थापा मगरले समुदायको जातीय अस्तित्व संरक्षणका लागि हिजो, आज र भोलिको अवधारणालाई आत्मसात् गर्दै भावी पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गराउन व्यवसायिक, स्वरोजगार तथा शैक्षिक विकासमा ध्यान दिन आग्रह गरे।
नेपाल मगर संघ बुढीबजार इकाई समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सुदीपराज ढुंगाना, स्थानीय समाजसेवी ईश्वरीप्रसाद अधिकारी तथा संस्थापक सचिव भोजबहादुर थापालगायतले आफ्नै घर–परिवारबाट भाषा र संस्कृतिको संरक्षण सुरु गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा समाजका ज्येष्ठ सदस्य १०० वर्षीया लक्ष्मी मगरलाई शताब्दी सम्मान प्रदान गरिएको थियो।
साथै, समाजसँग आबद्ध सदस्यका परिवारबाट उच्च माध्यमिक तह उत्तीर्ण विद्यार्थी तथा कलाकारहरूलाई सम्मान गरिएको थियो।
मगर समुदायको मौलिक संस्कृति झल्कने कौरा नृत्यसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन सचिव दलबहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जस्मिन थापाले राखेकी थिइन्।