पाेखरा । आगजनीले ध्वस्त भएकाे पोखरा महानगरपालिकाकाे कार्यालयले बिहिबार देखि वैकल्पिक कार्यालयहरूबाट सेवा प्रवाह थालेकाे छ । भदौ २४ गते जेनजी यूवाहरुको प्रदर्शनको क्रममा आगजनी र तोडफोडका कारण महानगरपालिकाको न्युराेड स्थित मुख्य प्रशासनिक भवन ध्वस्त भएपछि नियमित सेवा प्रभावित बनेको थियो ।
पृथ्वीचोकमा रहेको दमकलको भवनमा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष राखिएको छ । दमकल भवनबाट नै सार्वजनिक लेखा समिति, कानुन, सरसफाई र सूचना प्रविधि शाखा खडा गरेर सेवा दिन सुरु गरिएको छ ।
यस्तै पोखरा सभागृहमा पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खडा गरिएको छ । प्रशासन, राजस्व र सहरी विकास महाशाखाको सेवा अब पोखरावासीले सभागृहबाटै पाउनेछन् ।
ड्यामसाइडमा रहेको शिक्षा महाशाखामा आर्थिक प्रशासन महाशाखा र कोष प्रशासन शाखा रहेको छ ।
त्यस्तै सामाजिक विकास महाशाखाले सृजनाचोकमा रहेको पूरानो आफ्नै भवनबाट सेवा दिनेछ । न्यूरोडमा रहेको पूर्वाधार महाशाखामा योजना, आन्तरिक लेखा परीक्षण, भूमि प्रशासन, खरिद शाखा रहनेछन् ।
जेनजीको प्रदर्शनको क्रममा महानगरको मुख्यालय र वडा कर्यालयहरुमा आगजनी र तोडफोड भएको थियो ।
आगजनीले महानगरमा रहेका कागजात, फर्निचर, विद्युतीय उपकरण र दर्जनौँ सवारी साधन जलेर नष्ट भएका छन् ।