पाेखराकाे आकाशमा हट एयर बेलुन उडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा पोखराकाे आकाशमा बिहिबारदेखि हट एयर बेलुन उडान हुने भएकाे छ। बर्खायाममा माैषमी प्रतिकुलताका कारण राेकिएकाे हट एयर बेलुन उडान असोज ९ गते बिहिबार देखि पुनः सुचारु हुने बलुन नेपाल, पाेखराले जानकारी दिएकाे हाे । 


पाेखरा लेकसाइडकाे पामेबाट सुरु हुने बेलुन इन्द्रपुर ताल सम्मको करिब ४ किलोमिटर दूरीमा आधा घण्टादेखि ४० मिनेटसम्म उड्नेछ। करिब ९ हजार फिट उचाइमा पुग्ने बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खलाको मनोरम दृश्यसँगै फेवाताल, पोखरा बजार, पुम्दिकोट, विश्व शान्ति स्तूप,  सराङकोट, हरियाली वनजङ्गल लगायतकाे राेमाञ्चक दृश्यलाई ३६० डिग्री कोणबाट नजिकै अनुभव गर्न सकिने बलुन नेपालले दावी गरेकाे छ ।

साहसिक खेल मानिने बेलुन उडानका लागि नेपालीले  ११ हजार रुपैयाँ तिर्नुपर्छ । सार्क मुलुक र चिनियाँ पर्यटकका लागि १२० अमेरिकी डलर र अन्य मुलुकका पर्यटकका लागि १५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ। प्याकेजमा पोखराको लेकसाइडबाट पिकअप–ड्रप, उडान, फोटो तथा भिडियो सेवासहित सुविधा उपलब्ध हुनेछ।


हाल कम्पनीसँग तीनवटा बेलुन र अनुभवी दुई जना विदेशी पाइलट रहेका छन्। गतबर्ष पोखरामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव गरिएको थियाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।