पोखराको घार्मीमा बालाचतुर्दशी पर्व धार्मिक मेलाको रूपमा मनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ। पोखरा महानगरपालिका वडा नं १९ घार्मी स्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने तयारी भइरहेको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए ।  
यही मंसिर ३ गते परेको पर्वलाई केन्द्रीत गरी मन्दिर परिषरमा सरसफाई गरी बिभिन्न ध्वजापताका र तोरणले सजाउने कार्य शुरु गरिएको अध्यक्ष पौडेलले बताए। स्थानीय व्यक्तिको घरबाट विधिपूर्वक पूजाआजा गरि निकालिने फुलको डोली बाजागाजा र भजनकिर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याउने  प्रचलन छ।फुलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ । शुद्ध भई सतबीज छर्नाले पितृ उद्धार हुने धार्मिक मान्यता छ । 
धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९, भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजनकिर्तन गर्नेछन्  । स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापनको तयारी गरेका छन् ।
पछिल्लो समयमा विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित गर्दै नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए । मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले आकर्षण थपेको छ । पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन् । 
मन्दिर स्थापनादेखि नै बालाचतुर्दशी तथा महाशिवरात्री पर्व विशेष रूपमा मनाउने गरिन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।