राजनितिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ: मुख्यमन्त्री पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१ औँ संस्करणको लेखनाथ महोत्सवको बिहिबार पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताए। 

यदि आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक सङ्कट निम्तने उनको भनाइ थियो । राजनीतिक स्थिरताले मात्र देशमा उद्योग व्यवसाय फस्टाउनुको साथै रोजगारी सृजना र राजस्वसमेत वृद्धि भई देशको अर्थतन्त्र बलियो हुने उनले वताए ।

प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण सृजना गर्ने र उद्योग व्यवसाय सञ्चालन र विकासमा प्रदेशका कुनै ऐन कानुन बाधक भए ती ऐन कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको समेत उनले बताए ।

पाण्डेले गण्डकी प्रदेशमा उद्योग व्यवसाय स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले आफ्नो योजना अगाडि बढाएको बताउँदै उनले गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको बताए ।

युवालाई विदेश पलायनबाट रोक्न नयाँ कामको सृजना गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्ने भनाइ उनको छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकार घरेलु मदिरालाई ब्राण्डिङ गरी सकिएको र गाँजालाई पनि घरेलु औषधिका रूपमा प्रयोगमा ल्याउने तयारीका साथ सरकार अगाडि बढेको भनाइ उनको छ ।

गण्डकी प्रदेशको मुस्ताङ र तिब्बत जोड्ने कोरला नाकाले तिब्बत र यस क्षेत्रको व्यापार व्यवसायमा ठूलो महत्व राख्ने हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र बलियो बनाउन थप मद्दत पुग्ने उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले देशमा भएका विभिन्न घटना क्रमले उद्योगी व्यवसायको मनोबल खस्केको हुँदा उनीहरूको मनोबल उचो बनाउन सर जोड दिए ।

त्यसैगरी गण्डकी प्रदेशमा वन तथा वातवरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई अगाडि बढाउन सकेको खण्डमा देशको अर्थतन्त्र बलियो हुने कुरामा जोड दिए । उक्त कार्यक्रम लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

महोत्सवको पहिलो दिन बिहिबार नै ४५ हजार दर्शकले अवलोकन गरेको र १ करोड २० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचारप्रसार व्यवस्थापन संयोजक ध्रुवबाबु भट्टराईले बताए ।

महोत्सव अवधिभर दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र नौ करोड बराबरको आर्थिक कारोबार हुने जसबाट ९५ लाख खर्च आम्दानी र ८५ लाख खर्च भई १० लाख बचत हुने अनुमान गरिएको भटृराईले बताए । महोत्सवबाट हुने बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवद्र्धनसहित सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।

स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव यही पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित सञ्चालन गरिएको छ ।

महोत्सवका आकर्षणका रूपमा औद्योगिक व्यापार मेला, स्थानीय कला संस्कृतिको प्रदर्शन, हस्तकलाका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, अटोमोबाइल, वित्तीय संस्थाको सेवा तथा जानकारी दिने स्टलहरू राखिएका छन् ।

पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।