दुलेगौँडा । तीजको दिन दुलेगौंडामा चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी साम्बाको उपस्थितिमा तीज गीत प्रतियागिता हुने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा नं. ४ व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम हुने भएको हो ।
यही भदौ १० गते तीजको दिन दुलेगौंडाको विपीचोकमा हुने कार्यक्रममा खुल्ला तीज गीत प्रतियोगिता, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको सम्मान, लाखे नाच तथा कृष्ण जात्रा प्रर्दशनी हुने सभापति बालकृष्ण विश्वकर्माले जानकारी दिए ।
साथै कार्यक्रमकै अवसरमा दुलेगौडालाई व्यापारिक केन्द्र बनाउन सुरुवाती भुमिका खेल्ने जेष्ठ व्यापारीहरुको सम्मान तथा वडाभित्रबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने एक/एक जना छात्र तथा छात्रालाई पुरस्कृत गरिने विश्वकर्माले जनाए ।
तीज गित प्रतियोगिता तर्फ प्रथम टोलीले २५ हजार नगद पुरस्कार जित्नेछन् । यस्तै दोस्रो, तेस्रो र सान्त्वना स्थान हुने टोलीले क्रमश : १५, १० र तीन हजार पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक रिताकुमार श्रेष्ठ विन्दुले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषालाई दुई/दुई हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगि समुहमा बढीमा १० जना सहभागि हुन सक्नेछन् । प्रतियोगिले स्थानीय लोक भाका र सस्कृतिलाई प्राथमिकता दिनुपर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा १० मिनेटमा आफ्नो प्रस्तुत राख्नुपर्ने, ब्यक्ति, संस्था वा राजनीतिक दललाई आक्षेप लगाउने गरि गाउन नपाइने जनाइएको छ ।
कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजन गरिएको पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्लेले सस्कृतीको संरक्षण गर्न समितिले सकारात्मक प्रयास गरेको बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले कार्यक्रमले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै बजारमा आर्थिक गतिविधी सञ्चालन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । साम्बाकाे सम्मानले नयाँ पुस्तालाई खेलक्षेत्रमा प्रेरणा प्रदान गर्ने उनकाे विश्वास छ ।
सभापति विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक श्रेष्ठले र सञ्चालन महासचिव उपेन्द्रलाल श्रेष्ठले गरेका थिए ।