पोखरा ।
प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा कास्कीमा एक विद्यालयलाई खेलकुद तथा स्टेशनरी सामग्री प्रदान गरिएको छ । प्रेस सेन्टर कास्कीले आज पोखरा महानगरपालिका–मझेरीपाटनस्थित सहिद स्मृति विद्यालयमा खेलकुद तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालयमा अध्ययनरत सहिदका छोराछोरीको शैक्षिक तथा खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष दिनानाथ बरालले जानकारी दिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य तेजकुमारी पौडेलले स्थापना दिवसको अवसरमा सहिदको स्मृतिलाई सम्मान गर्दै विद्यालयलाई सहयोग गरेकोमा प्रेस सेन्टर कास्कीलाई धन्यवाद दिइन्।
विद्यालयकी प्रधानाध्यापक कल्पना चिलवालले विद्यालयमा हाल २०० आवासीय र २०० स्थानीय गरी कुल ४०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइन् ।
उनले जनयुद्ध तथा जनआन्दोलनका सहिद, कोभिड महामारी, भूकम्प, बाढीपहिरोजस्ता प्रकोपमा ज्यान गुमाएका तथा उत्पीडित वर्गका अभिभावकका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिएको बताइन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य घनश्याम पाण्डेले स्थापनाकालदेखि नै प्रेस सेन्टरले जनपक्षीय भूमिका निर्वाह गर्दै आएको बताए ।
त्यसैगरी समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देलले श्रमजीवी पत्रकारहरूको एकता आवश्यक रहेकोमा जोड दिए ।