श्रीनाथ अधिकारीको छैठौं स्मृति सभा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असार २३, पोखरा । मालेमावादी सिद्धान्त प्रति गहिरो निष्ठा राख्ने र क्रान्तिकारी विचारलाई जीवनको मूल आधार मान्ने सादा जीवनशैलीका धनी कम्युनिष्ट नेता श्रीनाथ  अधिकारी क. श्याम को  छैठौं स्मृति सभा आइतबार पोखरामा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक  पोलिट ब्युरो सदस्य एवं ७ नं. व्युरो इन्चार्ज  दिवंगत अधिकारीका ज्येष्ठ सुपुत्र नारायण अधिकारीको अध्यक्षता, ७ नं. व्युरो सचिवालय सदस्य तथा जन कलाकार बुहारी सुशिला थापाको स्वागत मन्तव्य  र  सचिवालय सदस्य विक्रम थापाको संचालनमा सम्पन्न कार्यक्रममा दिवंगत अधिकारीको सम्झनामा एक मिनेट मौन धारण गरी उनको फोटोमा
माल्यार्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार रामजी थापाले नेपाली कम्युनिष्ट आन्दोलनमा भएका विभाजन र एकताका विभिन्न चरणहरूको चर्चा गर्दै क.श्यामको योगदान अतुलनीय रहेको बताए । उनले श्रीनाथ अधिकारीको जीवन,संघर्ष र  क्रान्ति प्रतिको निष्ठा आज पनि नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे । 

कम्युनिष्ट पार्टीहरु प्रतिको जन विश्वाश गुम्न नदिन सबै वामपंथी शक्ति एकताबद्ध भई अघि बढ्नु पर्ने आवाश्यकता रहेकोमा जोड दिए ।

स्मृति सभामा पार्टीका ६ नं.व्युरो  ईन्चार्ज केश बहादुर परियार,पार्टीका केन्द्रिय सल्लाहकार पुर्ण ढुंगाना, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सह ईन्चार्ज हरि अधिकारी क.कुमार, वाम वुद्धिजिवी रामराज रेग्मी, विप्लव नेतृत्त्वको नेकपा कास्की जिल्ला ईन्चार्ज सावित्रा सी, नेकपा माओवादी केन्द्रका नेता झ्लकपाणि तिवारी र वाम वुद्धिजिवि शेषमणि आचार्य लगायत वक्ताहरुले आ–आफ्ना धारणा राख्दै श्रीनाथ अधिकारीको जीवन र जगतलाई बुझ्ने भौतिकवादी दृष्टिकोण, क्रान्तिकारी व्यक्तित्व,राजनिती  विचार,व्यवहार,त्याग,सादगीपन र राष्ट्र र जनता प्रतिको समर्पणको प्रशंसा गर्दै उनको सपना र विचारलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखेका थिए ।

माओवादी घटक विभिन्न पार्टीका नेता,कार्यकर्ता ,शुभेच्छुक साथै परिवारजनको उपस्थिति रहेको उक्त कार्यक्रममा जेष्ठ सुपुत्र नारायण अधिकारी निष्चलले  बुबाको क्रान्तिको अधुरो सपना पूरा गर्न प्रतिवद्ध रहेको भनाई राख्दै उनको पारिवारिक अवस्था, शिक्षा,जागिर,राजनीतिक जीवनका आरोह अवरोह साँस्कृतिक चिन्तन बारे बताएका थिए ।

दिवंगत अधिकारी, २०१२ साल साउन ९ गते  गोर्खाको अजिरकोटमा जन्मिएका उनको उपचारको क्रममा २०७६ असार २२ गते निधन भएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।