दुलेगौंडा । माेहन भुजेलकाे कृति 'सिपाहीकाे साहित्य यात्रा' शनिबार दुलेगौंडामा विमाेचन गरिएकाे छ । शुक्ला साहित्य संगम, तनहुँद्वारा प्रकाशित कृतिकाे दुर्गा शाह 'बाबा' लगायत साहित्यकारहरूकाे उपस्थितिमा विमाेचन गरिएकाे हाे ।
'सिपाहीकाे साहित्य यात्रा' पुुस्तकमा माेहन भूजेलका मुक्तक, कविता, गीत र गजल समेटिएका छन् । सेना र प्रहरीमा ३० बर्ष सेवा गरेका लेखक भुजेलले पहिले सिपाही भएर देशकाे पहरेदारी गरेकाे र रिटायर्ड जीवनमा साहित्य मार्फत खबरदारी गरेकाे उल्लेख गरे । फाैजी जीवनकाे अनुभव, घुमफिर, परिवार, प्रेम लगायत जीवनका विभिन्न कालखण्डका घटनाकाे अनुभुतिलाई साहित्यिक रचना मार्फत उजागर गरेकाे उनले बताए ।
पुस्तक विमाेचन कार्यक्रमा भुजेलले श्रीमती प्रमिला भुजेलकाे नाममा १ लाख २ हजार २३ रूपैयाँ, ९ पैसा ३ दाम बराबरकाे अक्षय काेष स्थापनाकाे घाेषणा गरेका छन् । शुक्ला साहित्य संगम मार्फत उदाहरणीय साहित्यकारका जीवनसाथी अथवा परिवारका प्रेरक व्यक्तित्वलाई बार्षिक रूपमा पुरस्कृत गर्न अक्षय काेष खडा गरेकाे भुजेलले बताए ।
शुक्ला साहित्य संगमका अध्यक्ष टुकादेवी आचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिस्ठ साहित्यकार दुर्गा शाह 'बाबा', शेषमणि आचार्य, पुस्तकका सम्पादक जीवनसागर, आनन्द सुन्दर श्रेष्ठ, लक्ष्मी सिग्देल, जुनु खड्का लगायतले पुस्तकबारे आफ्नाे आफ्नाे धारणा राखेका थिए ।