दुलेगौंडा।
शुक्लागण्डकी नगरपालिका ५ स्थित ज्ञान बगैंचा बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत विद्यार्थीले शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’सँग अन्तरक्रिया गरेका छन् । स्थानीय पाठ्यक्रम सम्बन्धि अन्तरक्रियामा बुधबार विद्यार्थीले उपमेयर विकसँग बाल्यकालका स्मृति, पुस्तक, राजनीति, जनप्रतिनिधिको भूमिका र न्यायिक समितिको काम कारबाहीसँगै नगरपालिकाले गरिरहेका विकास निर्माणको अवस्थाबारे अन्तरक्रिया गरेका हुन् ।
जेन–जी आन्दोलनको क्रममा नवयुवाले राखेको माग कसरी सम्बोधन भइरहेको छ भनेर समेत उपमेयर विकलाई विद्यार्थीले प्रश्न सोधे - ‘उपमेयर ज्यु शुक्लागण्डकी क्षेत्रमा युवाहरु विशेषगरी जेन–जी ले उठाएको माग र आवाजलाई तपाईंले कसरी लिनुभएको छ ? स्थानीय सरकारले ती चासोलाई सम्बोधन गर्न के कस्ता कदम चालिरहेको छ’, आस्थाकुमारी शाहले उपमेयरलाई प्रश्न तेर्साइन् । उपमेयर विकले जवाफ दिए, ‘सुशासनको पक्षमा काम भइरहेको छ ।’ सुशासन र भ्रष्टाचारको अन्त्य जेन–जी ले उठाएको मुख्य माग भएकाले उनीहरुको पक्षमा काम भइरहेको उनले दाबी गरे । नगरपालिका मातहतका कार्यालयबाट प्रवाह हुने सेवामा ढिलासुस्ती रोक्न लागिरहेको उनले सुनाए । अनावश्यक खर्च कटौतीमा जोड दिएको विद्यार्थीमाझ उल्लेख गरे । ‘हामीले हिजोका दिनमा पनि सकरात्मक कामहरु गरेका त थियौं नै । त्यसमा अझै परिस्कृत गर्नुप¥यो । हामीले राम्रो मात्रै गरेको भएर सायद उहाँहरुले आन्दोलन गर्नुभयो’, उनले भने, ‘हाम्रोतर्फबाट अझै गर्नपर्ने कुरा धेरै रहेछन् र हामीले सक्या रहेनछौं भन्ने कुराको रियलाइज गरेको छु मेरोतर्फबाट । त्यसपछि उहाँहरुले उठाएको सुशासन दिनका निमित्त हामीले प्रयासहरु गरेका छौं । नगरपालिकामा विभिन्न समितिहरु बनाएका छौं । खर्चको दरलाई हामीले कसरी कमभन्दा कम गर्ने र धेरै उपलब्धि कसरी लिने भन्नेमा छौं ।’
विद्यार्थी आयुष्मा रिमालले नेतृत्वमा कसरी आउनेबारे सवाल गरिन् । ‘भविष्यमा हामी जस्ता विद्यार्थीहरु पनि नेतृत्वमा आउन कस्तो सोंच र चरित्र हुनुपर्छ ?’, उनको प्रश्न थियो । नेतृत्वमा आउनलाई इच्छाशक्ति, वाककला, निडरपन, अध्ययन लगायतका गुणहरु हुनुपर्ने उपमेयर विकको भनाइ थियो । ‘आफूले नेतृत्व गर्ने क्षेत्रको अध्ययन गर्नुपर्छ । शुक्लागण्डकीको मेयर उपमेयर हुन्छुु भन्ने लाग्छ भने सबैभन्दा पहिला के थाहा हुनुपर्यो भने शुक्लागण्डकीको भूगोल कस्तो छ ? कस्ता मान्छेहरु बस्छन् ? आवश्यकता के हो ?’, उनले बेलिविस्तार लगाए, ‘शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटनमा के–के गर्न सकिन्छ भनेर सम्भावनाको खोजी गर्नलाई अध्ययन र छलफल गर्नुपर्छ । जनतालाई रिझाउन सक्ने चरित्र चाहिन्छ ।’
समिर विक अशक्त र विपन्नको पक्षमा उभिए । ‘अशक्त र गरिब विपन्न मानिसहरुलाई के गर्ने सोचिरहनुभएको छ ?’, उनले प्रश्न उठाए । उपमेयर विकले अशक्त र विपन्को लागि जीवनस्तर सुधार्न लागेको बताए । सुकुम्बासीलाई भूमिको व्यवस्थापनमा लागेपनि संघ सरकारका कारण कठिन भइरहेको सुनाए । विपन्नका लागि निशुल्क स्वास्थ्य बिमा, घरबारवीहिनलाई घर बनाइदिनका लागि यो बर्षदेखि बजेटको व्यवस्थापन गरेको उनले उल्लेख गरे । ‘जति सक्छौं त्यतिलाई यो बर्ष घर पनि बनाइदिनेछौं’, उनले भने ।
रोजगारीको अवसर सिर्जनाका लागि सीपमूलक तालिम प्रदान गरिरहेको उनी बताउँछन् । ‘उपमेयरसँग युवा’ कार्यक्रममार्फत सीपमूलक तालिम र बाँझो जमिनलाई उत्पादनसँग जोड्ने कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।
उपसना यादव, दिप्सा पौडेल, जेयान भुजेलले उपमेयरसँग थुप्रै सवालहरु गरे । बाल्यकालको रोचक किस्सा, सिनेमा र पुस्तकबाट लिएको प्रेरणा, समुदायले भोग्नुपरेको चुनौति, राजनीतिक यात्राको प्रवेश, चुनावी यात्रा र चुनौति, निर्वाचित भइसकेपछि गरेका कामहरु, न्यायिक समितिबाट हुने कार्यसम्पदानका प्रक्रिया, आगामी योजना मात्रै सोधेनन् नेतृत्वमा कसरी पुग्नेसम्मको जिज्ञासा सहजकर्तात्रय यादव, पौडेल र जेयानले राखे ।
विद्यार्थीको प्रश्नले बाल्यकालतर्फ फर्किएर उपमेयर विक नोस्टाल्जिक भए । उनले कक्षा चारमा पुग्नेबेला अंग्रेजी सिकेर नाम लेख्न सिकेको सुनाए । विद्यालय ‘बंक’ गरेर सिनेमा हेरेको, किताबको पात्रबाट प्रेरणा लिएको, राजनीतिक आस्थाकै कारण बाल अवस्थामै हिरासत जीवन बिताएको अनुभव विद्यार्थीमाझ साझा गरे । हिजो र आजको समयले दिएको परीवर्तनबारे पनि विद्यार्थीलाई ।
उनले बाल अवस्थामा लिनुपर्ने अनुभव लिनुका साथै पुस्तक पढ्न सुझाए । ‘सफल हुनलाई आत्मविश्वास चाहिन्छ । इच्छाशक्ति हुनैपर्छ । पढाइ बिना सफलता असम्भव छ’, विद्यार्थीलाई उपमेयर विकले हौस्याउँदै भने । इन्टरनेटको दुरुपयोगमा नलाग्न विद्यार्थीलाई उनले सचेत गराएका छन् । लागु पदार्थ, मादक पदार्थको दुव्र्यसनीले असफलताको मार्गतर्फ लैजाने भएकाले कुलतमा लाग्नै नहुनेमा उनको जोड थियो ।
अन्तरक्रिया कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय विज्ञप्ति लामीछाने र अंकित पौडेलले गरेका थिए । स्थानीय पाठ्यक्रमलाई व्यवहारिक बनाउन अन्तरक्रिया आयोजना गरेको ज्ञान बगैंचा बोर्डिङ स्कुलका प्रधानाध्यापक सुरेश पौडेलले बताए । ‘विद्यार्थी आफैंले अन्तरक्रिया गरेर ज्ञान हासिल गर्न सहज हुने भएकाले अन्तरक्रियालाई जोड दिएका छौं’, उनले भने ।