अबदेखि शनिबार र आइतबार सरकारी बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै  

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार शैक्षिक संस्था बाहेक अन्य कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको छ । 

यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट शुरु गर्ने शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । 

यस्तै, डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ । 

आजको बैठकबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने तथा विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ । 

यस्तै, नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको प्रवक्ता पाखरेलले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।