पोखरा, १७ असोज । सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा परामर्शकर्मीका लागि आयोजित दुईदिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रमले आयोजना गरेको तालिम कास्कीको ढिकुरपोखरीस्थित हिमालयन देउराली रिसोर्टमा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको हो । तालिममा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक, आप्रवासी स्रोत केन्द्रमा रही सेवा तथा परामर्श दिने सूचना तथा परामर्शकर्मी र मन्त्रालयका कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो । तालिममा मानसिक स्वास्थ्य, स्वहेरचाह, सकारात्मक सोच, पेशागत विकास तथा सकारात्मक ऊर्जासँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गरिएको थियो । तालिमको पहिलो दिन सावित्री शर्माले मानसिक स्वास्थ्य प्रवद्र्धनका तरिका तथा औजार र स्वहेरचाहसम्बन्धी तरिका तथा क्रियाकलापका विषयमा सहजीकरण गरेकी थिईन ।
त्यसैगरी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले कार्य वातावरण तथा सहजीकरणमा सकारात्मक सोच विषयमा सहजीकरण गरेका थिए । कार्यतालिकामा समेत मानसिक सुस्वास्थ्य प्रवद्र्धन, स्वहेरचाह र कार्यस्थलमा सकारात्मक सोचका विषय समावेश गरिएको थियो । दोस्रो दिन भक्तराज रसाइलीले प्रशंसनीय दृष्टिकोण तथा पेशागत विकासका विषयमा सहजीकरण गरेका थिए भने पत्रकार तथा उत्प्रेरक सुष्मा पौडेलले सकारात्मक ऊर्जा तथा उत्प्रेरणासम्बन्धी क्रियाकलाप गराएकी थिइन् । सहभागीहरूका लागि योग तथा साधनासमेत सञ्चालन गरिएको थियो । कार्यक्रमको समापन गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले कर्मचारीहरूले आफ्नो तनाव व्यवस्थापन गर्दै खुसी भएर काम गर्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले सेवाग्राहीसँग प्रत्यक्ष रूपमा काम गर्ने कर्मचारीहरूले मुस्कानसहितको सेवा प्रदान गर्न सकून् र सेवाभावलाई अझ मजबुत बनाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । तालिमपछि कर्मचारीहरूमा सकारात्मक ऊर्जा र उत्साह बढ्ने विश्वास व्यक्त गर्दै सचिव पौडेलले आगामी दिनमा सेवाग्राहीलाई मुस्कानसहित, तनावमुक्त र प्रभावकारी सेवा प्रदान गर्न सहभागीहरूलाई आग्रह गरे । उनले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा कुनै पनि सम्झौता नगरी निःस्वार्थ भावना र सेवाभावका साथ काम गर्न कर्मचारीहरूलाई अनुरोध गरे । सेवाग्राहीलाई प्रदान गरिने सेवा कर्मचारीको व्यवहार र सकारात्मक सोचसँग पनि जोडिने भएकाले आफूले गर्ने कामप्रति जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो । तालिमले कर्मचारीहरूलाई कार्यस्थलमा उत्पन्न हुने तनाव व्यवस्थापन गर्न, सकारात्मक सोच विकास गर्न तथा आफ्नो मानसिक स्वास्थ्य र स्वहेरचाहमा ध्यान दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।