पोखरा, २४ असोज । पोखराको पर्यटन प्रवर्द्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित पोखरा पुम्दीभुम्दी पर्वतीय दौड सम्पन्न भएको छ । पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दी क्षेत्रमा दौड सम्पन्न भएको हो । विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं.२२ का वडा अध्यक्ष हिमलाल बराल, आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया,पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानीका रूपमा स्थापित गर्दै यहाँका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पर्यटनका नयाँ गतिविधिको विकासमा जोड दिँदै आएको छ । पर्वतीय दौडजस्ता कार्यक्रमले पोखराको पर्यटनलाई विविधीकरण गर्नुका साथै खेलाडी, पर्यटक र स्थानीय समुदायबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।