पोखरा, असोज २३ । कास्की प्रहरीले पोखराका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध टापेन्टाडोल (Tapentadol) र मोबाइल फोनसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले विशेष सूचनाका आधारमा कारबाही चलाई उनीहरूलाई नियन्त्रणमा लिएको हो । असोज २२ गते विहिबार दिउँसो सवा १२ बजे पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडमा लागू औषध बिक्री बितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धादिङ ज्वालामूखी गाउँपालिका वडा नं. ३ घर भई हाल जाल्पारोड बस्ने २८ वर्षीय आशिष बि.क.लाई पक्राउ गरेको हो । उनी बसेको घरको कोठाबाट प्रहरीले टापेन्टाडोल ट्याब्लेट २८७ चक्की र १ थान मोबाइल बरामद गरेको छ । विहीवार नै पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल क्षेत्रमा बिक्री बितरण भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. २ घर भई हाल महेन्द्रपुल बस्ने २१ वर्षीय सुसिल रोक्का, वडा नं. १२ मियाँपाटन बस्ने ३६ वर्षीय रहमद मियाँ,पर्सा पर्सागढी नगरपालिका वडा नं. २ घर भई हाल पोखरा वडा नं. १ बगर बस्ने ३० वर्षीय साविर सेख रहेका छन् । उनिहरूको साथबाट प्रहरीले टापेन्टाडोल ट्याब्लेट ४२१ चक्की र ३ थान मोबाइल बरामद गरेको हो । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी कसूरमा १५ (पन्ध्र) दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।