पोखरा, असोज १७ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रबाट स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गराउने थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 'अप्रेसन ३६५' अभियान अन्तर्गत असोज १६ गते रातिको समयमा गरिएको नियमित चेकजाँचका क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीद्वारा ७ वटा मोटरसाइकल, वडा प्रहरी कार्यालय बैदामको टोलीद्वारा १ वटा मोटरसाइकल, वडा प्रहरी कार्यालय बगरको टोलीद्वारा १ वटा मोटरसाइकल र वडा प्रहरी कार्यालय रामबजारको टोलीद्वारा २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार “अप्रेसन ३६५' अभियान सुरु भएयता हालसम्म कूल ८८ वटा सवारी साधन नियन्त्रणमा लिइनुका साथै ३६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।