भानुभक्त क्याम्पसः उमेर हदको मापदण्ड मिचेर क्याम्पस प्रमुखको नियुक्ती !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

विनोद ढुंगाना


तनहुँ- कर्मचारी मात्रै होइन भानुभक्त बहुमुखी क्याम्पसमा प्रमुख नै कार्यविधि लत्याएर नियुक्ती गरेको खुलेको छ । पदपुर्ती समिति र सञ्चालक समितिले पहुँचको भरमा आफैंले बनाएको कार्यविधि विपरित अन्तमान श्रेष्ठलाई क्याम्पस प्रमुखमा नियुक्ती गरेको खुलेको हो ।  कार्यविधि विपरित कर्मचारी छनोटपछि कागजत अध्ययनको क्रममा क्याम्पस प्रमुख श्रेष्ठ नै सेटिङको आधारमा नियुक्ती गरिएको कागजातले स्पष्ट पारेको छ । 


क्याम्पस सेवा व्यवस्थापन कार्यविधि २०८२ ले सेवा प्रवेशका लागि उमेर हद बढीमा ४० बर्ष तोकेको छ । ‘क्याम्पसको स्थायी सेवामा प्रवेशका निमित्त शिक्षक कर्मचारीका लागि बढीमा ४० वर्षसम्म उमेरको हद कायम गरिएको छ । तर, ४० बर्ष भित्र अस्थायी सेवा प्रवेश गरिसकेकाहरुबाट स्थायी हुनको लागि यो उमेर हद लाग्ने छैन । साथै, शिक्षक तथा कर्मचारीहरुको ६० बर्षमा अनिवार्य अवकाश हुनेछ’, कार्यविधिमा उल्लेख छ । क्याम्पस प्रमुखलाई शिक्षक या कर्मचारी जे मानेपनि सेवा प्रवेशमा उमेर हद ४० बर्ष तोकिएको छ ।  ६० बर्षे उमेर हदकै कारण पहिलाका क्याम्पस प्रमुख रमेशबहादुर अधिकारीले राजीनामा बुुझाएर ‘रिटायर्ड’ भएका हुन् ।

क्याम्पस सेवा व्यवस्थापन कार्यविधि २०८२ मा उल्लेख भएको उमेरहद

त्यसपछि त्यही कार्यविधिमा उल्लेख उमेर हदको मापदण्डलाई लत्याएर भानुभक्तमा ५२ बर्षीय अन्तमानलाई क्याम्पस प्रमुख नियुक्ती गरिएको हो ।  यो भन्दा अगाडी नै भानुभक्तमा सेवा प्रवेश गरेर अहिले उनले नियुक्ती पाएका पनि होइनन् । 

हामीलाई प्राप्त नागरिकताको प्रतिलिपि र मतदाता नामावली दुवैको विवरणमा अन्तमानको जन्ममिति २०३० बैशाख २२ गते उल्लेख छ । बाबुको नामसमेत एउटै छ । भानुभक्त क्याम्पसको सञ्चालक समितिको १२ औं बैठकले २०८२ फागुन अन्तिम साता चैत १ गतेदेखि लागु हुने गरेर अन्तमानलाई  क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्यतिबेला उनी ५२ बर्षका थिए । क्याम्पस प्रमुखका लागि अन्तमानसँगै हाल भानुभक्तमै सहायक प्रध्यापक रहेका निरोज भट्टराई, अशोक पौडेल र श्रीकृष्ण घिमिरेले आवदेन दिएका थिए ।  तर, सबैलाई पाखा लगाएर उमेर हदको मापदण्ड नै मिचेर अन्तमानलाई क्याम्पस प्रमुख बनाइएको खुलेको छ । 

 

अन्तमानलाई क्याम्पस प्रमुख बनाउन सबैभन्दा ठूलो भूमिका कर्मचारी तथा शिक्षक छनोट समितिको छ । समितिले आफ्नै हस्ताक्षरसहित पारित कार्यविधि र मापदण्डलाई कुल्चदै राजनीतिक पहुँचको आधारमा अन्तमानको नाम सिफारिस गर्दा सिंगो सञ्चालक समितिले आँखा चिम्लिएर अनुुमोदन गरेको हो । यसले भानुभक्तमा सेटिङको आधारमा प्रध्यापक तथा कर्मचारी नियुक्ती हुने पुष्टी गर्न सघाउछ ।

भानुभक्त क्याम्पसको कर्मचारी छनोटमा मनलाग्दी, यसरी हुन्छ सेटिङ !

विषय विज्ञको रुपमा भानुभक्त बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल ढकाल र छनोट समितिको संयोजकमा लालबहादुर श्रेष्ठ, सदस्यमा शरण सापकोटा, चोलाकान्त पाण्डे (सिके) थिए । तत्कालीन नेकपा माओवादी निकट मानिने अन्तमानलाई कार्यविधि मिचेर क्याम्पस प्रमुख बनाउनलाई हालका नेकपाको नेताहरुले शक्तिको दुरुपयोग गरे ।  नेकपा शुक्लागण्डकीको संयोजक रहेका छनोट समितिका सदस्य शरण सापकोटासँगै अर्का सदस्य चोलाकान्त पाण्डेले जोडबल गर्दा छनोट समितिका संयोजक लालबहादुर श्रेष्ठ र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ पनि सहमत भए । छनोट समिति बाहिर रहेका नेकपाको भागबण्डामा सदस्य बनेकाहरुको जोडबल रह्यो नै । 

 

क्याम्पस प्रमुख छनोटमा यतिसम्म गरियो कि विहान १२ बजेका लागि अन्तवार्ताका लागि बोलाएर साँझ ५ बजेसम्म पनि सुरु भएको थिएन । ‘कस्लाई राख्ने भनेर पहिल्यै तय भएको थियो’, प्रतिस्पर्धामा उत्रिएका एक आवेदकले बताए । रातारात अन्तमानलाई नै प्रमुख बनाउन भानुभक्तमा शक्तिको दुरुपयोग गरिरहेकाहरु लागे । 

प्राज्ञिक थलोमै कार्यविधि किन मिचियो भनेर प्रतिक्रिया लिन पदपुर्ती समितिका संयोजक लालबहादुर श्रेष्ठलाई फोन गर्दा उनी सम्पर्कमै आएनन् । ‘समाचारमा प्रतिक्रिया लिन फोन गरेको’ भनेर म्यासेज गर्दा ‘म बाहिर छु ... अलि भिडभाडमा’ उनले जवाफ फर्काए । त्यसको भोलिपल्ट फोन गर्दा पनि उनले उठाएनन् । 

अर्का छनोट समिति शरण सापकोटलाई कर्मचारी छनोटको कार्यविधिबारे प्रश्न गर्दा केही थाहा नभएको बताए । ‘मलाई केही थाहा छैन । कुनै विषयमा पनि’, उनले भने । ‘म सबै छनोटमा बस्याछु । ठिक छ आवश्यक परेछ भने यसको उत्तर ठाउँमा दिउँला’, उनले धम्कीको शैलीमा प्रतिक्रिया थियो, ‘आउनुस् कहाँ बसेर के उत्तर दिने हो म तयार छु ।’

क्याम्पस प्रमुख छनोट समितिका अर्का सदस्य चोलाकान्त पाण्डेले संवाददाताले पहिचान दिएपछि भने, ‘म क्लासमा छु । सकेर फोन गर्छु ।’ समाचार तयार पार्दासम्म उनको जवाफी फोन आएको छैन । विषय विज्ञ कमल ढकालसँग भने सम्पर्क हुन सकेको छैन । 

भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठले प्रश्न गर्नेहरुलाई भनेका छन्, ‘कार्यविधि नभएको कलेजमा कार्यविधि निर्माण गरी पालना गर्ने सन्दर्भमा एक इन्च पछि हट्ने कुरा छैन ।’ बिहीबार विहान क्याम्पस सञ्चालक समितिको बैठक बसेको थियो । त्यहाँ पनि अध्यक्ष श्रेष्ठले कार्यविधि मिचेर काम नभएको जिकिर गरेको सहभागी एक सञ्चालक समिति सदस्यले बताए । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।