भानुभक्त क्याम्पसको कर्मचारी छनोटमा मनलाग्दी, यसरी हुन्छ सेटिङ !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न विषयविज्ञ न त कार्यविधि अनुसारको प्रक्रिया 

विनोद ढुंगाना

तनहुँ - को शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसको कर्मचारी छनोटमा मनपरी भएको छ । क्याम्पसले हालै आवेदन माग गरेको प्रशासन सहायक र पुस्तकालय सहायक पदको कर्मचारी छनोटमा मनपरी गरेको हो । कर्मचारी छनोट प्रक्रियाप्रति प्रश्न उठ्न थालेपछि नतिजा सार्वजनिक नगरकीन गुपचुप राखिएको छ । कर्मचारी छनोटमा सेटिङ चल्ने सञ्चालक समिति सदस्यहरु नै बताएका छन् । 

क्याम्पस प्रशासनले कर्मचारी छनोटका लागि लिखित, अन्तर्वाता र प्रयोगात्मक तीन चरणको परीक्षा लियो तर, आफ्नै कार्यविधि लत्याएर । क्याम्पसले साउन २० गते १५ दिने सूचना जारी गर्दै प्रशासन सहायक र पुस्तकालय सहायक पदमा आवेदन माग ग¥यो । प्रशासन सहायकमा ६ जना र पुस्तकालय सहायकमा १० जनाले आवदेन दिए । भदौ ५ गते उम्मेदवारको सूची सार्वजनिक गर्दै ८ गतेलाई परीक्षाको मिति तोकिएको । तर, दुवै पदमा पाठ्यक्रमबिना नै परीक्षा लिइयो । 

 

अर्कोतर्फ, आफ्नै कार्यविधिलाई लत्याएर परीक्षा भएको छ । भानुभक्तको क्याम्पस सेवा व्यवस्थापन कार्यविधि २०८२ अनुसार ‘क्याम्पस सेवा आयोगले शिक्षक तथा छनोट प्रयोजनका लागि जुन तहको शिक्षक छनोट गर्ने हो सो भन्दा कम्तिमा एक तह माथिको शिक्षकलाई विषय विशेषज्ञको रुपमा नियुक्ति गरिने छ । कर्मचारीको हकमा सम्बन्धित विषयको विज्ञ छनोट गरिनेछ’ उल्लेख छ । अर्थात कर्मचारी छनोटमा विषयको विज्ञ कार्यविधिले नै अनिवार्य भनेको छ । सोमबार लिइएको प्रशासन सहायक र पुस्तकालय सहायकको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक तीनै चरणको परीक्षा विषय विज्ञ बिना नै लिइएको हो ।  लिखित परीक्षाको प्रश्न विषय विज्ञबाट होइन एआईबाट तयार पारेको फेला परेको छ । 

अन्तर्वातामा क्याम्पस प्रमुख अन्तमान श्रेष्ठ, सहायक क्याम्पस प्रमुख धनप्रसाद पोखरेल, सञ्चालक समिति सदस्य एवम कर्मचारी पदपुर्ती समिति संयोजक लालबहादुर श्रेष्ठ र अर्का सदस्य शरण सापकोटाले अन्तर्वार्ता लिए । न उनीहरु प्रशासन न त पुस्तकालय विषयका विज्ञ हुन् । सहायक प्रशासन पद (सहायक लेखापाल) मा छनोट समिति सदस्य लालबहादुर नै विज्ञ भएको क्याम्पस अध्यक्ष दुर्गाकुमार श्रेष्ठको दाबी छ । 

विषय विज्ञबिना मात्रै होइन कार्यविधिको अर्को बुदाँको पनि धज्जी उडाएर परीक्षाको प्रक्रिया अपनाइएको छ । कार्यविधिको (इ) मा ७० अंकको लिखित परीक्षा, २० अंकको प्रयोगात्मक परीक्षा र १० अंकको अन्तर्वाता हुने उल्लेख छ । ‘लिखित तथा प्रयोगात्मक परीक्षामा कम्तिमा ४५ प्रतिशत अंक ल्याउने प्रतियोगीलाई मात्र अन्तर्वातामा समावेश गरिनेछ’, कार्यविधिमा उल्लेख छ । तर, पुस्तकालय सहायकमा लिखित परीक्षाको उत्तरपुस्तिका नजाँच्दै अन्तर्वार्ता सुरु गरियो । अन्तर्वाता पछि मात्रै प्रयोगात्मक परीक्षा लिइएको हो । अर्थात लिखित र प्रयोगात्मक परीक्षाको कम्तिमा ४५ अंक नकटेपनि अन्तर्वातामा ४ जना मिलेर प्रश्न सोधें । प्राज्ञिक थलोमा नै आफैंले बनाएको कार्यविधिलाई कागजको खोस्टोमा सीमित राखएिको छ ।

प्रशासन सहायक पदमा त सहभागीलाई पहिले नै अन्तर्वाता लिएर बल्ल लिखित परीक्षामा बसालेका हुन् । दुवै पदमा कम्प्युटरको प्रयोगात्मक परीक्षा पनि वित्तशास्त्र विषयका सहायक प्रध्यापक आकाश थापाले लिए ।  

कार्यविधि मिचेर गलत प्रक्रिया अपनाइएको बारेमा भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ स्वीर्कादैनन् । सहायकस्तरको कर्मचारी भएकाले क्याम्पस प्रमुख नै विषय विज्ञ भएको उनले तर्क छ । ‘लेखा सहायक विषयको विज्ञ स्वयम छनोट समितिका संयोजक हुनुहुन्छ’, उनले भने । अर्थात लालबहादुर श्रेष्ठलाई उनले विषयविज्ञको रुपमा उल्लेख गरे ।

क्याम्पस प्रमुख नै विज्ञ भएको तर्क गरेका अध्यक्ष श्रेष्ठलाई उनले पुस्तकालय विषयमा सम्बन्धित अध्ययन हो भनेर प्रश्न गर्दा झनै गैरजिम्मेवार जवाफ दिएका छन् । ‘क्याम्पस प्रमुख भनेको व्यवस्थापक हो । आफ्नो मातहात शाखाको कार्य सम्पादन व्यवस्थापन जिम्मेवारी र साधरण विज्ञता कार्यालय प्रमुखसँग हुन्छ नै’, उनले भने, ‘हामीले पुस्तकालय सहायकस्तरको कर्मचारीका लागी लिने परीक्षामा पुस्तकालयमा स्नातकोत्तर गरेको विषयको विज्ञ ल्याउन सकेनौं । यसका आफ्नै सिमाहरु छन् ।’ विज्ञ दाबी गरिएको प्रमुख श्रेष्ठले अर्थशास्त्रमा ‘एमए’ अध्ययन गरेको क्याम्पसको वेभसाइटमा उल्लेख छ ।
 
परीक्षा अगावै जागिर फाइनल !

भानुभक्त क्याम्पसमा कसरी सेटिङमा कर्मचारी छनोट हुन्छ भन्ने प्रशासन सहायक र पुस्तकालय सहायक पदको परीक्षाले छताछुल्ल पारेको छ । विगतदेखि नै क्याम्पस सञ्चालक समितिले यो आरोप खेप्दै आइरहेको थियो । यो पटक पनि पुरानै परम्परालाई दोहो¥यादै कर्मचारी छनोटको तयारी भएको स्रोतहरु बताउँछन् । आवेदन खुला हुदा नै कस्लाई राख्ने निर्धारित भइसकेको एक जना प्रध्यापकले बताए । ‘पहिल्यै नै दुई जनाको नाम तयार भएको सुनेका थियौं’, उनले भने । कर्मचारी छनोटको विषयलाई बाहिर ल्याउन पुस्तकालय सहायकमा आवेदन दिएर तीनै चरणका परीक्षामा सामेल भएका संवाददाताको आवेदनले सेटिङमा सकस पु¥याएको उनको भनाइ थियो ।

ती प्रध्यापकको भनाईलाई पुष्टी गर्ने गरेर दुई जना सञ्चालक समिति सदस्यले पनि परीक्षाको दिन विहान संवाददातालाई फोन गरेका थिए । प्रभावित पार्ने उदेश्यले फोन गरेका दुई मध्य एक जना त छनोट समितिमै थिए । उनले भने, ‘उनीहरुले नि उता एक दुई जना मान्छे तयारी ग¥या रैछन् ।’ 

अर्का सञ्चालक समिति सदस्यले पनि घुमाउरो पारामा भने,  ‘... विनोदको सन्दर्भमा त जे–जे गरेर भएपनि गर्न प¥यो नि ।’ उनले यसअघिका नियुक्तिमा आफूले कुनै रुची नदेखाएको उल्लेख गर्दै दुई चार महिना काम गरेर छोड्ने भए कुरा नगर्नेसमेत सुनाए ।

 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।