वडाध्यक्ष इन्द्र गुरुङ आदर्शको गफ छाँट्ने, बचतकर्तालाई हुन्छ भनेर मात्रै ढाँट्ने !
विनोद ढुंगाना
तनहुँ– फिरफिरे कृषि सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगर्दा बचतकर्ताको बिल्लीबाठ भएको छ । बर्षौदेखि जम्मा गरेको रकम फिर्ता नपाएपछि बचतकर्ता समस्यामा परेका हुन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ढोर लामागाउँ प्रधान कार्यालय उल्लेख भएको सहकारीले दुलेगौंडा बजारमा सम्पर्क कार्यालय खोलेर चलाइरहेको छ । यो सहकारीका अध्यक्ष शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष इन्द्र गुरुङ हुन् । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित गुरुङ बोलीमा आदर्शका गफ छाँट्छन् । तर, व्यवहारमा भने सर्वहारा, मजदुर, किसान र श्रमिकहरुले बचत गरेको रकम फिर्ता गर्न हुन्छ, हुन्छ... भनेर मात्रै ढाँट्छन् ।
बचतकर्ता यतिसम्म समस्यामा छन् कि सहकारीले बचत फिर्ता नदिएपछि ऋण खोजेर उपचार गराउन बाध्य छन् । शुक्लागण्डकी नगरपालिका–११ का डोलराज शाहीले श्रीमति हिरादेवीको नाममा ३ लाख रुपैयाँ बचत गरेका थिए । १ लाख रुपैयाँ बचत रकम बल्लतल्ल फिर्ता लिए । तर, बाँकी रकम पाउने टुंगो छैन ।
३ लाख रुपैयाँको ब्याज र साँवा २ लाख रुपैयाँ फिर्ता लिन उनलाई फलामको च्यूूउरा चपाएसरह भएको छ । पटक–पटक बचत फिर्ता माग्दा पनि सुनवाई नभएको उनले बताए । ‘कुरा गर्दा दिन्छु भन्छन् । अब कहिले हो कहिले दिने त ?’, डोलराज भन्छन्, ‘एक बर्ष काट्यो फिर्ता मागेको । बिरामी भएर उपचारका लागि माग्दा पनि दिएनन् । ऋण खोजेर उपचार गनूप¥यो ।’ सहकारीका अध्यक्षसमेत रहेका वडाध्यक्षले हुन्छ मात्रै भनेर आश्वासन दिएको उनले बताए । तर, बचत फिर्ता दिने कहिले हो टुंगो नहुदाँ साह्रै समस्यामा परेको बताए ।
अर्का एक बचतकर्ताले ऋण फिर्ता आएपछि दिन्छु भनेर आश्वासन दिने गरेको बताए । तीन बर्षदेखि नै सहकारी संकटग्रस्त भएको ती बचतकर्ताको भनाई छ । भनेको बेलामा त्यतिबेलादेखि नै रकम फिर्ता नपाएको उनले बताए ।
सहकारी स्रोतका अनुसार ठूला बचतकर्ताको रकम फिर्ता गर्न समस्या रहेको छ । ‘थोर–थोरै बचत ऋण उठाउदैं फिर्ता गर्नुपर्ने अवस्था छ’, स्रोत भन्छ । स्रोतका अनुसार ठूला बचतकर्ताको रकम फिर्ता गर्नलाई अध्यक्ष इन्द्र गुरुङ नेतृत्वको टिम नै लाग्नुपर्नेछ । तर, वडाध्यक्ष गुरुङ कानमा तेल हालेर बचतकर्तालाई भोली भनेर टारीरहेको अवस्था हो ।
सहकारी अहिले निकै भद्रगोल अवस्थामा छ । कति बचत फिर्ता गर्नुपर्ने हो र ऋण कति उठाउन बाँकी छ सहकारीमा कार्यरत कर्मचारीलाई नै थाहा छैन । कर्मचारीले आफ्नो पारिश्रमिक आफैं उठाएर खानुपर्नेछ ।
सहकारीका अध्यक्ष इन्द्र गुरुङले साना बचतकर्तालाई रकम फिर्ता गरिरहेको बताए । ‘साना–साना बचतकर्तालाई आफैंले दिएको छु । ठूला ऋण नउठेकाले ठूला बचतकर्ताको हकमा समस्या भएको हो’, उनले भने । उनले टिमले काम नगर्दा समस्या आएकोसमेत सुनाए । सकेको समस्या समाधान गर्दैै जाने उनको भनाइ छ । उनैका अनुसार सहकारीको रकम जग्गामा लगानी गरेपछि समस्या भएको हो ।