गोपालधाममा निःशुल्क रक्त परीक्षण शिविर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, ३ असोज । गोपाल सेवा केन्द्र (गोपालधाम) पोखरा–१८ मा शनिबार भएको निःशुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा उनीहरुको मधुमेह र कलेजोसम्बन्धी जाँच सित्तैमा गरिएको हो । ​कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा शंकर बरालले पेट तथा कलेजोसम्बन्धी विभिन्न रोगबारे प्रकाश पारे । उनले ग्यास्ट्रिक खानपानले मात्र नभई ब्याक्टेरियाका कारणले पनि हुन सक्ने उल्लेख गरे । ‘ग्यास्ट्रिक धेरै कारणले हुन सक्छ सधैँ औषधि खाइरहँदा हानि गर्छ,’ उनले भने, ‘डाक्टरको परामर्शमा औषधि खानुपर्छ । बेलाबेलामा जाँच पनि गराइरहनुपर्छ ।’ ​युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले संस्थाले गरिरहेका शिविरहरु विश्वास र सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे । उनले भने, ‘हामी यो क्षेत्रको एक मात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब हौँ, गुणस्तर र सेवामा पनि हामी पहिलो नै बनेका छौँ ।’ ​गोपालधामका अध्यक्ष लक्ष्मीशरण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामजीप्रसाद पराजुली र महासचिव कल्पना सुवेदीले पनि बोलेका थिए । ​स्थापनादेखि नै युआरएलले आफैँ र विभिन्न सङ्घ, संस्थासँग सहकार्य गरी निःशुल्क रगत जाँच शिविर आयोजना गर्दै आएको छ । शनिबार आयोजित शिविर २ सय ३८ औँ हो । २०७० सालमा स्थापना भएको युआरएलले गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी २४ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।