पोखरा, असोज १२ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल बाहिर बेवारिसे अवस्थामा भेटिएको शंकास्पद सुटकेस खाली रहेको पाइएको छ । सोमबार बिहान पौने १० बजे सुकेको घाँसले छोपेर राखिएको निलो रङको बेवारिसे सुटकेस फेला परेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो । घटनास्थललाई सुरक्षित राख्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले सुटकेस खोलेर जाँच गरेको थियो । जाँचका क्रममा सुटकेस भित्र कुनै पनि वस्तु नरहेको र त्यो पूर्ण रूपमा खाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।