कास्कीमा अवैध सुन र लाखौँ नगद सहित आठ जना अभियुक्त सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

​पोखरा, साउन २ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध सुन, बहुमूल्य सामग्री र नगद सहित पक्राउ परेका आठ जना आरोपीहरूलाई सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चलाएको सर्च अपरेसनका क्रममा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रमाणसहित नियन्त्रणमा लिन सफल भएको हो । ​प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा ९.३४२ तोला, १.८७३ तोला, १.०५४ तोला लगायत विभिन्न परिमाणका सुनका ढिक्का र टुक्राहरू रहेका छन् । यसैगरी आरोपीहरूको साथबाट कुल २ लाख १ हजार २ सय २० रुपैयाँ नगद, सञ्चारका लागि प्रयोग गरिएका ९ थान महँगा स्मार्टफोनहरू तथा थप अनुसन्धानका लागि प्रयोग भइरहेको १ थान ल्यापटप समेत बरामद गरिएको छ । ​जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) बिरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका सबै अभियुक्तहरूलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ । बरामद गरिएको सुन र नगदको स्रोतबारे अनुसन्धान भइरहेको र उनीहरूमाथि प्रचलित ऐन अनुसार कानुनी कारबाही चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।