पोखरा, साउन १५ गते । पोखरा महानगरपालिका–३२ स्थित मझुवाबाट प्रहरीले ५४ एम्पुल अवैध लागू औषध र साढे ५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ । पृथ्वीराजमार्ग सडक खण्डमा विशेष सूचनाका आधारमा खटिएको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र अस्थायी प्रहरी पोष्ट मझुवाको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पर्वतका राजेश ५४ एम्पुल लागू औषधसहित पक्राउ
काठमाडौँबाट कास्कीतर्फ आउँदै गरेको बा. प्र. ०३-००१ ख २४४४ नम्बरको बसमा सवार पर्वत जिल्ला जलजला गाउँपालिका–२ बस्ने ३१ वर्षीय राजेश विश्वकर्मालाई ५४ एम्पुल लागू औषधसहित नियन्त्रणमा लिइएको छ । प्रहरीले उनको साथबाट डाइजापाम १८ एम्पुल, फेनरागन १८ एम्पुल , बुप्रिनर्फिन १८ एम्पुल, मोबाइल १ थान बरामद गरेको छ । पक्राउ परेका विश्वकर्मामाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। मकवानपुरकी ज्योती साढे ५ किलो गाँजासहित नियन्त्रणमा यसैगरी, काठमाडौँबाट पोखरातर्फ नै आउँदै गरेको ग. प्र. ०१-००१ प ००२४ नम्बरको बसमा सवार मकवानपुर जिल्ला थाहा नगरपालिका–८ बस्ने ३२ वर्षीया ज्योती श्रेष्ठ पुरीलाई शंका लागी जाँच गर्दा अवैध गाँजासहित पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट अवैध गाँजा ५ किलो ४५० ग्राम रमोबाइल फोन १ थान बरामद गरेको छ। उनीमाथि लागू औषध सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (DSP) बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।