मतदाता समक्ष सोमबहादुरका ५ प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तनहुँ ।

मतदान गर्ने दिन नजिकिंदै जाँदा उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीब्र पारेका छन्।  तनहुँ निर्वाचन क्षेत्र नं २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सोम बहादुर थापाले सोमबार घिरिङ्गका विभिन्न गाउँ बस्तीमा पुगेर मत मागे।


मजदुर नेताको रूपमा राजनैतिक परिचय स्थापित गरेका उम्मेदवार थापाले मतदातासँग आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन्। “मलाई भोट दिएर मेरो क्षमता जाँच्नुस्, कामबाटै प्रमाणित गर्छु,” उनले भने। आफूले वर्ग संघर्ष विषयमा विद्यावारिधि समेत गर्दै गरेकोले गरिब, बिपन्न, मजदुर, किसान वर्गका समस्या र समाधान बारे ज्ञान भएको थापाले बताए ।

आफू आदिवासी जनजाति समुदायको युवा  नेता भएको उल्लेख गर्दै उनले पहिचान, संस्कृति र भाषाको मुद्दामा गम्भीर आत्मबोध भएको बताए ।

ग्रामीण विकास, सुशासन र जनताको दैनिक समस्याको समाधानलाई पहिलो प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ।  यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा ठोस योजना रहेको उल्लेख गर्दै उनले अवसर पाए परिणाम देखाउने विश्वास दिलाए।

घरदैलो कार्यक्रम तथा टोलसभामा उनले भने, “नेता भाषणले होइन, कामले चिनिनुपर्छ। मैले बोलेका कुरा कार्यान्वयन गरेर देखाउनेछु।”

सोही अवसरमा उनले आफ्नो मुख्य पाँच बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरे। जस अन्तर्गत तनहुँ–२ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई सुदृढ बनाउने, कृषि–पर्यटन र साना उद्योगलाई विकासको केन्द्रमा राख्ने, युवाको वैदेशिक पलायन अन्त्य गर्न रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्ने रहेका छन्। 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।