न्यूजिल्याण्डमा पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। पोखराका पर्यटन एम्बासडर डीडीटी रमिल अधिकारीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा २ हजार भन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली कला र संस्कृति झल्काउने विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो, जसमा परम्परागत लाखे नृत्यले विशेष आकर्षण थपेको थियो।
यसै अवसरमा पोखरेली व्यक्तित्व रमिल अधिकारी र चर्चित सांगीतिक ब्याण्ड नेपथ्यका गायक अमृत गुरुङबीच विशेष भेटघाट भएको थियो। झण्डै दुई दशकपछिको यो पुनर्मिलनले कार्यक्रमलाई थप भावुक र स्मरणीय बनाएको थियो। कार्यक्रममा सहभागीहरूले नेपथ्यको गीत-संगीतले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो माटो र पहिचानसँग जोड्न ठुलो भूमिका खेलेको चर्चा गरेका थिए।
नेपालको पर्यटन र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजना गरिएको यस कार्यक्रममा नेपाली समुदायका साथै विभिन्न देशका नागरिकहरूको समेत बाक्लो उपस्थिति थियो।
"पोखराको माया र नेपाली संस्कृतिको सुगन्ध संसारको जुनसुकै कुनामा पुगे पनि उस्तै आत्मीय महसुस हुन्छ" भन्दै आयोजकले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन्। यस्ता प्रवर्द्धनात्मक कार्यक्रमले भविष्यमा नेपालको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।