पोखरा, साउन १५ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव हुने हल्लाको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर घरमा भण्डारण नगर्न नगरवासीसँग विशेष आग्रह गरेका छन् । बजारमा ग्यास सकिन लागेको हल्लाका कारण उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर घरमै राख्ने (ओभर स्टकिङ) प्रवृत्ति बढेको छ । जसका कारण सामान्य अवस्थाको तुलनामा करिब ५० हजारभन्दा बढी ग्यास सिलिन्डर बजारमा फिर्ता नआएको र यसले कृत्रिम अभाव जस्तो जटिल अवस्था सिर्जना गरेको मेयर आचार्यले बताए । कालोबजारी र अनुचित फाइदा उठाए कडा कारबाही मेयर आचार्यले ग्यास विक्रेताहरूलाई पनि कृत्रिम अभाव सिर्जना नगर्न र उपभोक्ताको समस्याको अनुचित फाइदा नउठाउन सख्त चेतावनी दिएका छन् । ग्यासको आपूर्ति र बजार स्थितिबारे पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय, कास्कीले संयुक्त रूपमा नियमित अनुगमन गरिरहेको जानकारी दिँदै उनले भने , "कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा अनुचित मौज्दात (स्टक) गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ।" अफवाहको पछि नलाग्न अपिल महानगर प्रमुखले अफवाहको भ्रममा नपरी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र प्रयोग गर्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ । साथै, संकटको बहाना बनाएर अनुचित फाइदा उठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सबै नगरवासी, व्यवसायी र सरोकारवालाहरू एकजुट हुन आग्रह गरे ।