पत्रकारमाथि नगरप्रमुखकाे अमर्यादित व्यवहारप्रति महासंघद्वारा खेद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ  

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख (मेयर) कृष्णराज पण्डितले सञ्चारकर्मीमाथि अभद्र र अपमानजनक व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले भत्सर्ना गरेकाे छ। 

शुक्लागण्डकी नगरपालिका - ५ बेलचाैतारा स्थित कृषि हाटबजारकाे रिपोर्टिङका क्रममा हिमालय टेलिभिजनका तनहुँ प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य विनोद ढुङ्गानामाथि मेयर पण्डितले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखा र शुक्लागण्डकी पत्रकार मञ्चले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरि घोर भर्त्सना गरेका छन् र मेयरलाई सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

विज्ञप्तिमा जनाइएअनुसार, आइतबार शुक्लागण्डकी हाटबजारकाे रिपोर्टिङकाे क्रममा पत्रकार विनोद ढुङ्गानामाथि मेयर पण्डितले अमर्यादित व्यवहार गरेमा थिए । नगर प्रमुख कृष्णराज पण्डितले “पत्रकार त पार्टीका हुन्छन्” भन्ने अभिव्यक्ति दिएपछि  पत्रकार ढुङ्गानाले “को भयो पार्टीको पत्रकार ? कसरी भयो ?” भनी जिज्ञासा राख्दा  आक्रोशित बनेका नगर प्रमुख पण्डितले “तैंले मलाई सिकाउन पर्दैन” भन्दै अपाच्य शब्दको प्रयोग गरी असभ्य र अपमानजनक व्यवहार गरेको पत्रकार महासंघले जनाएकाे छ।  

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ​"जनप्रतिनिधिबाट सञ्चारकर्मीमाथि गरिने यस्ता अभिव्यक्ति र व्यवहारले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै प्रश्न उठाउने काम गर्दछ।" ​

महासंघले उक्त अमर्यादित कार्यको घोर भर्त्सना गर्दै मेयर पण्डितलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। साथै, पत्रकारितामाथि हुने कुनै पनि प्रकारका दबाब, धम्की वा हस्तक्षेपविरुद्ध सञ्चार क्षेत्र सदैव एकजुट रहने चेतावनी समेत महासंघले दिएको । 

यस्तै, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले पनि एक विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यमाथि भएको अभद्र व्यवहारप्रति कडा आपत्ति जनाएका छन्। मञ्चले यस्ता गतिविधि स्वतन्त्र प्रेस जगतका लागि किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेको छ।

आगामी दिनमा यस्ता अमर्यादित कार्यहरू नदोहोर्‍याउन सचेत गराउँदै मञ्चले पत्रकार ढुङ्गानामाथि भएको दुर्व्यवहारविरुद्ध सम्पूर्ण सञ्चार क्षेत्र एकजुट हुने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।