पाेखरा ।
पोखरामा सम्पन्न २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रूपमा जितेका छन् । सराङकोटबाट उडान गरी खपौदी नजिकको निर्धारित बिन्दुमा अवतरण गर्दै दुबै खेलाडीले समान ७ अंकसहित पहिलो स्थान हासिल गरेका हुन् । भारतका इमान रम्तेल ८ अंकसहित तेस्रो भए ।
नेपाली खेलाडी पवन परियार र अर्जुन जलारी समान ११ अंक ल्याउँदै क्रमशः छैटौँ र सातौँ स्थानमा रहे । महिला एकलतर्फ चीनकी कोङ सियाङ यान ७ अंकसहित प्रथम भइन् । नेपालकी दुर्गा माया गुरुङ १२६ अंकसहित दोस्रो र भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो भइन् । नेपालीतर्फ पुरुष विधामा पवन परियार र अरुण जलारी संयुक्त रूपमा पहिलो हुँदा रिखि पौडेल तेस्रो भए । महिलातर्फ दुर्गा माया गुरुङ पहिलो, इशा राई दोस्रो र कृषु पौडेल तेस्रो स्थानमा रहिन् ।
प्रतियोगितामा पाँच राउण्डसम्म प्रतिस्पर्धा भएको थियो । तेस्रो दिन प्रतिकूल मौसमका कारण खेल स्थगित भएपछि अघिल्ला दुई दिनको नतिजाका आधारमा अन्तिम परिणाम सार्वजनिक गरिएको आयोजकले जनाएको छ। टिम इभेन्टतर्फ भारतीय मिक्स टोली (वर्कला) प्रथम, इन्डो–नेपाल संयुक्त टोली दोस्रो र टिम नेपाल तेस्रो भयो । नेपाल, भारत, इटाली, जर्मनी र चीनका ६२ खेलाडी सहभागी प्रतियोगितामा पुरुषतर्फ ५२ र महिलातर्फ १० खेलाडी थिए । विजेताहरूले विभिन्न विधाअनुसार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता सुरक्षित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।