दुलेगौडा ।
शुक्लागण्डकी नगपालिकामा विभिन्न कार्यक्रम सहित २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८३ मनाइएको छ ।
नगर स्तरीय दलित सञ्जाल शुक्लागण्डकी नगर समितिको आयोजनमा विहीबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायले साँस्कृतिक झाँकी सहित शक्ति प्रदर्शन गरेर दिवस मनाएका हुन् ।
विपिचोकदेखि नगरपालिकासम्म आयोजना गरिएको र्याली पश्चात नगरपालिकाका सभाहरुमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताए। जात भन्दा वर्गका आधारमा बढी विभेद हुने गरेको दावि गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताए ।
नगर प्रमुख पण्डितले जातको आधारमा हुने विभेदले समाजमा विद्रोह सिर्जना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरुद्ध अडिग रहेको स्पष्ट पारे ।
नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले सामाजिक रुपमा विभेदका अवशेष अझै रहेको भन्दै कानुनको प्रभावकारी कार्यन्वयन आजको आवश्यकता भएकाे बताए ।
पूर्व उपप्रमुख सविता रसाइलीले दलित समुदायमाथि अझै पनि जातीय रुपमा समान ब्यवहार नहुने यथार्थ विरुद्ध लड्न प्रतिवद्ध भएर लाग्नुपर्ने बताइन् ।
सामाजिक विकास समितिका संयोजकसमेत रहेका शुक्लागण्डकी नगरपालिका १ का वडाध्यक्ष रविचन्द्र पौडेल, वडा नम्वर ७ का वडाध्यक्ष खड्कसिं थापा, कार्यपालिका सदस्य खिमबहादुर कुमालले जातीय भेदभाव परम्परा, संस्कार र धर्मका नाममा अझै कायम रहेको भन्दै सामुहिक प्रयासले निर्मुल बनाउनुपर्नेमा जोड दिए ।
यस्तै नेपाल आदिबासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुलकुमार कुमाल, गुरुङ्ग मगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने गरि सरकारी स्तरबाट काम हुन नसकेको भन्दै असन्तुष्टी ब्यक्त गरे । उनीहरुले उपेक्षित समुदायको एकताले परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विश्व हिन्दु महासंघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष नारायप्रसाद घिमिरेले धर्ममा विभेदबारे उल्लेख नभएको स्पष्ट पार्दै समाजमा हुने फरक ब्यवहार अन्यायपूर्ण रहेको बताए ।
सञ्जालका संयोजक सन्तोष विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित समुदायका अभियान्ताहरु विलास परियार, भरत लामगादे, जनार्दन वियोगी नेपाली, दिपेन्द्र परियार, जौमाया सुनार, कोपिला परियार लगायतले जातीय रुपमा हुने फरक ब्यवहारिक रुपमा हट्नुपर्ने आफुहरुको मुख्य माग रहेको बताए ।
नगरपालिकाका विभिन्न स्थानबाट सहभागि भएका दलित समुदायको बाक्लो उपस्थितीका विच सम्पन्न भएको कार्यक्रममा गायक यामसागर विक र कलाकार दिवस परियारले सास्कृतिक प्रस्तुति राखे ।