पोखरा । मन्त्रीपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ । केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्प्रर्धा गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनले यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने पनि जानकारी दिए । यस्तै,सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् । साथै, आजको बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पारेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता पोखरेलले त्रिविसँग नयाँ लिज सम्झौता गरिने बताए । त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ । मन्त्री पोखरेललले भने विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ रूपले सम्झौता गरेर अघि बढ्ने बताए ।