नवलपरासीमा यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते ​

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नवलपरासी, १७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित विनयी त्रिवेणी गाउँपालिका–०२ एस मोडमा पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । ​नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटनाग्रस्त भएको हो। ​प्रहरीका अनुसार बसमा चालकसहित कूल १८ जना सवार रहेका थिए । जसमध्ये ६ जनाको घटनास्थलमै तथा उपचारका क्रममा मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बसमा सवार अन्य २ जना भने सकुशल रहेका छन् । ​दुर्घटनामा परी मृत्यु हुनेहरूमध्ये जाजरकोटको भेरी नगरपालिका–०३ बस्ने ५० वर्षीय निर्जुङ खत्रीको मात्र पहचान खुलेको छ। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको र पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ। ​घाइते हुनेमा गो.न.पा.-०९, गोरखा वर्ष ३० का हरिशरण थापा , मंगलसेन न.पा.-६, अछामका २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी , ठाकुरबाबा न.पा.-१, बर्दिया २० वर्षीय आकृति , स्वामी कात्तिक गा.पा.-५, बाजुराका २८ वर्षीय पवन बुढा, राजापुर न.पा.-९, बर्दिया २८ वर्षीय सञ्जय थारु , स्वामी कात्तिक गा.पा.-१, बाजुरा २५ वर्षीय प्रेम बम, कुञ्जय सोमपाक गा.पा.-५, ललितपुरका २९ वर्षीय अनोज खत्री बाँसगढी न.पा.-७, बर्दियाका ३६ वर्षीय लाल बहादुर कार्की , नेपालगञ्ज उ.म.न.पा.-१६, बाँके ४८ वर्षीय अस्लाम भगवान र वनगढ कुपिण्डे न.पा.-१, सल्यानका २१ वर्षीय अनिल बुढाथोकी रहेका छन् । ​दुर्घटनाको खबर लगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको तत्काल उद्धार गरेको थियो । घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको र त्यहाँ उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।